(About swelling of mouth and face due to decayed teeth/ cavities in Nepali)
विश्व स्वास्थ्य संगठनका अनुसार संसारको करिब आधा जनसंख्याको दाँत सडेको छ र जीवनमा हरेक व्यक्तीको कुनै न कुनै समयमा गएर दाँत सड्दछ।
माथिको चित्रमा देखाइएजस्तै, दाँतको नशा, रक्तकेशिका र धमनीहरुलाई बाहिर देखिने कडा तन्तु र पदार्थले ढाकेको हुन्छ। दाँतका बाहिरी तहहरु इन्यामल र डेन्टिन कडा हुन्छन् र भित्री भागलाई बचाएर राखेका हुन्छन्।
मानवशरिरको सबैभन्दा कडा भाग नै इन्यामल हो, तर एक पटक इन्यामल बनिसकेपछी यसलाई बनाउने कोषहरु भने नष्ट भइसकेका हुन्छन्। जसका कारणले इन्यामल भाँचिएमा, फुटेमा वा सडेमा फेरी बन्न सक्दैन, न त आँफै फुटेको भाग जुट्न नै सक्छ।
हाम्रो शरीरमा हरपल बहुप्रजातिका करोडौँको संख्यामा जीवाणुहरु हुन्छन्। केहि किटाणुहरु हाम्रो स्वास्थ्यको लागि लाभदायक हुन्छन् भने केहि हानिकारक। हाम्राे मुखभित्रपनि कराेडाैँ जिवाणुहरु हुन्छन्। तिनिहरु दाँत तथा गिजामा आफ्नै समाज बनाएर बसेका हुन्छन् जसलाई म यहाँ किटसमाज भन्नेछु। तल दाँतमाथिका किटसमाजका आँखाले देखिने र सुक्क्ष्मदर्शक यन्त्रबाट देखिने चित्रहरु देखाइएका छन्।
याे किटसमाजका किटाणुहरु हामीले खाने खानामै निर्भर हुन्छन्। हामीले खानामा शक्तिकाे प्रमुख स्राेत कार्बाेहाइड्रेट हाे। अझ चकलेट जस्ता खाद्यवस्तुमा अत्यधिक मात्रामा कार्बाेहाइड्रेट पाइन्छ। किटसमाजमा भएका किटाणुहरुले साे कार्बाेहाइड्रेटबाट शक्ति लिँदै साेलाई एसिडमा परिवर्तन गरिदिन्छन्।
एसिडले तत्पश्चात दाँतकाे सबैभन्दा बाहिरि सतह इन्यामललाई कमजाेर बनाइदिन्छ र किटाणुहरुलाई दाँतभित्र पस्न अझ सहज बनाइदिन्छ। फेरि कार्बाेहाइड्रेट प्रयाेग गरि शक्ति लिँदै एसिड उत्पादन हुँदै दाँतकाे बाहिरि सतह अझ कमजाेर हुन्छ र दाँत कालाे रङमा परिवर्तन भइ खिइन पनि सक्छ। साेलाई नै दाँत सड्नु भनिन्छ। दाँतकाे सडन इन्यामल सम्म मात्र सिमित भए दाँत दुख्दैन किनभने इन्यामल निर्जिव हुन्छ। तर डेन्टिन भने सजिव हुन्छ। यसका मसिना नलिहरुमा नशाहरु हुन्छन् जसले गर्दा सडन डेन्टिनसम्म पुगे दाँत दुख्न थाल्छ। याे अवस्थामा वा यसभन्दा अघि उपचार गराए समय र खर्च दुवै नै कम लाग्दछ।
तर समयमै उपचार नगराए वा दुखाइविरूद्धकाे औषधि सेवन गरि दुखाइलाई चेपेर दाँतकाे उपचार नगराए दाँत सड्ने प्रक्रियाले डेन्टिनलाई नष्ट गरि नसासम्म पुग्दछ। दाँतकाे नसालाई किटाणुहरुले इन्फेक्ट गरि त्यस वरपरका तन्तुहरुलाई सुन्याइदिन्छ। याे अवस्थामा पनि दाँत धेरै नै दुख्दछ। तर हेल्चेक्र्याइँ गरे दाँतकाे जरामुनिकाे प्वालबाट संक्रमण हाडमा पुगि हाडभित्र घाउ बनाउँदछ। याे अवस्था पनि अत्यन्त पिडादायि हुन्छ। याे संक्रमण ठुलाे भए अनुहार, घाँटि र वरपरका अङ्गहरु सुन्निने हुन सक्छ र समयमै उपचार नभए बिरामिकाे ज्यान पनि जान सक्छ। वा घाउले गाला छेडि मुखभित्रै बाटाे बनाइ पिप निस्कन्छ। पिप निस्किए दुखाइ नभएपनि उपचार गराउनु भने आवश्यक नै हुन्छ।
मुख तथा अनुहारमा हुने ९०-९५% संक्रमण र सुन्निने दाँतको कारणले हुन्छ जसमध्ये ७०% भन्दा बढी दाँतको सडनले गर्दा मात्र हुन्छ। सडेको दाँतले गर्दा संक्रमण भएको हो भनी बचाउन मिल्ने दाँत पनि उखेल्नु चाँही घोर लापर्बाही हो। संक्रमण भयो भनी बचाउन मिल्ने हात काटेर फाल्नु र संक्रमण भयो भनी दाँत उखेल्ने स्व:निर्णय लिनु उस्ता-उस्तै हो।
मुख सुन्निएको अवस्थामा कुन उपचार उत्तम हुन्छ भनी निर्णय नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्तचिकित्सकले लिन्छन्। आवश्यक एक्स्-रे आदी जाँच गरिसकेपछी दाँत बचाउने वा उखेल्ने के उत्तम हुन्छ भनी दन्तचिकित्सकले सल्लाह दिन्छन् र बिरामीले रोजेको अनुसार उपचार गर्दछन्। यदी, कारक दाँत बुद्धीबङ्गारा होइन र सडन एकदमै अधिक छैन भने प्राय: जसो बिरामीमा दाँत बचाउने उपचार उत्तम हुन्छ। र, सकेसम्म दाँत बचाउने उपचार (आर. सि. टि.) नै गर्नुपर्दछ।साथै, धेरै ठुलो सुन्निएको छ भने शल्यकृया गरि पीप बगाउने उपचार पनि गर्नुपर्ने हुनसक्छ जुन निर्णय दन्तचिकित्सकले जाँच गरिसकेपछि लिनेछन्।
मुख सुन्निएको अवस्थामा घरमा ध्यान दिनुपर्ने कुराहरु:
१. नरम खानेकुरा खाने।
२. तातोले सुन्निएको भागलाई नसेक्ने। चिसो वस्तु जस्तै वरफले सुन्निएको भागलाई सेक्ने।
३. दुखाइ नियन्त्रण गर्न घरमा उपलब्ध औषधी, जस्तै पारासिटामोलको सेवन गर्ने।
४. चाँडो भन्दा चाँडो दन्तचिकित्सक कहाँ जाने।
(नक्कली र सक्कली दन्तचिकित्सक छुट्याउने सजिलो तरिका थाहा पाउन यहाँ क्लिक गर्नुहोस्।)