(About disability due to lack of awareness in Nepali)

कहिलेकाहिँ हातमा अनियन्त्रित घाऊ जस्तै ग्याङ्ग्रिन भए हात नै काटेर हटाउनुपर्ने अवस्था आउँछ। हात काटिसकेपछी व्यक्ती अपाङ्ग बन्दछ किनभने अब उसले सामान्य व्यक्ती झैँ कार्य गर्न असमर्थ हुन्छ। कहिलेकाहिँ भने अङ्ग काटेर हटाउनैपर्ने हुन्छ तर त्यो अङ्ग बिना पनि मान्छेले सामान्य व्यक्ती झैँ बिना कुनै समस्या जीवनयापन गर्न सक्दछ। जस्तै एपेन्डिसाइटिस भएपछी एपेन्डिक्स काटेर हटाउनु। विना एपेन्डिक्सको व्यक्ती अपाङ्ग हुँदैन र कहलिँदैन।

मुखका अन्तिम बङ्गाराहरु (बुद्धी-बङ्गाराहरु) एपेन्डिक्स झैँ अङ्ग हुन् जसको समस्या आएमा धेरै जसो बिरामीमा उखेलेर हटाउनुपर्ने हुन्छ। तर अन्तिमको बङ्गारा बाहेकका अरु दाँत उखेलेर हटाएपछी मान्छे अपाङ्ग बन्दछ।

दाँत उखेलेर नक्कली दाँत नलगाउँदा उत्पन्न हुने समस्या

दाँतले हामीलाई खान र बोल्न त सघाएकै हुन्छ, यसले हामीलाई सुन्दर बनाउने काम पनि गर्दछ। चपाउने एउटामात्र दाँत उखेल्नुले पनि केही बर्षपछी धेरै समस्याहरु निम्त्याउँदछ। तत्कालका लागि त खाना चपाउने क्षमता घटाऊँदछ। केही समयपछी त्यस दाँत उखेलिएको खाली ठाउँ भर्न नजिकैका दाँतहरु ढल्किन्छन् र उल्टोपट्टिको दाँत लम्बाइमा बढ्दछ जसले गर्दा फेरी ति दाँतहरुमा समस्या आउँछ। दाँत उखेलिने मुख्य रोग चाँही दाँतको सडन हो। धेरै आम नेपालीहरुले दाँत सड्यो भने र सडेर दुख्यो भने उखेल्नु नै उत्तम हो भनी सोच्दछन् जुन सरासर गलत हो। दाँत सडेको छ भने त्यस दाँतलाई बचाउने अनेक उपायहरु छन्। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्तचिकित्सकले सो उपचार गर्दछन्। दाँत बच्नै नसक्ने अवस्थामा छ भने मात्र दाँत उखेलिनुपर्दछ। दाँत बच्छ कि बच्दैन भन्ने निर्णय पनि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्तचिकित्सकले गर्दछन्।

दाँतको समस्या भएका व्यक्तिहरुले बचाउन मिल्ने दाँत उखेल्ने उपचार रोजि अपाङ्गपन रोज्नुको केही प्रमुख कारणहरु निम्नानुसार छन्:

१. चेतनाको कमि

२. नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका र दन्तचिकित्सालाई व्यापार मात्रको दृष्‍टिकोणबाट हेर्ने केहि व्यक्तीहरुबाट हुने गलत सुचना

३. नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका अदक्ष व्यक्तिबाट दाँत बचाउने उपचारको नाममा भएको गलत उपचारबाट सहि उपचारका बारेमा उत्पन्न अविश्वास

स्वस्थ मुस्कान सुखी जीवनको एउटा महत्वपूर्ण पाटो हो।

दाँत बचाउनै मिल्ने अवस्था छैन भने दाँत उखेल्नुपर्ने हुनसक्छ त्यस्तो अवस्था आए दाँत उखेलिसकेपछी नक्कली दाँत लगाउनुपर्ने हुन्छ। दाँत उखेलिसकेपछी नक्कली दाँत नलगाउँदा के हुन्छ भनी जान्न यहाँ क्लिक गर्नुहोस्

दाँतको सडन भइसकेपछि सडन दाँतको नशासम्म पुगिसकेको छ भने त्यस दाँतको जरैदेखी उपचार गर्नुपर्ने हुन्छ जसलाई आर. सि. टि. भनिन्छ। आर. सि. टि. को बारेमा थाहा पाउन यहाँ क्लिक गर्नुहोस्

By Dr. Nitesh Kumar Roy

Dental Surgeon, Rationalist, Lover of Literature and Visual Arts

Leave a Reply

Your email address will not be published. Required fields are marked *