(About cleft lip and cleft palate in Nepali)
अङ्ग्रेजी क्लेफ्ट (cleft) शब्दको अर्थ ‘चिरिएको’ हो। क्लेफ्ट लिप भन्नाले चिरिएको ओठ र क्लेफ्ट लिप भन्नाले चिरिएको तालु हो। यो समस्या जन्मजात समस्या हो। अर्थात् यो समस्या आमाको गर्भमा हुँदै उत्पन्न हुन्छ।
१००० जन्मिएका बच्चा मध्ये १ देखी ३ जनासम्ममा यो समस्या देखिन्छ।
गर्भमा मानवशरिर विकास भइरहँदा विभिन्न अङ्गहरु एक-आपसमा जोडिन्छन्। त्यही अङ्गहरु जोडीने क्रममा विभिन्न समस्या आइ ओठका भागहरु वा तालुका भागहरु एक आपसमा नजोडीएपछी यो चिरिने समस्या देखा पर्दछ। के कारणले यो समस्या आउँछ भनी यकिनका साथ भन्न अहिलेसम्म वैज्ञानीकहरु सफल भइसकेका छैनन् तर केही सम्भावना बढाउने कारकहरु भने निम्नानुसार हुन सक्छन्।
- वंशाणुगत गुण। यदी आमा बुवा कसैमा यो समस्या भए बच्चामा हुने सम्भावना बढि रहन्छ।
- गर्भावस्थामा आमाले चुरोट, रक्सी वा केही विशेष औषधी खाएमा यो समस्या हुने सम्भावना बढि रहन्छ।
- आमालाई गर्भ हुनुभन्दा पहिले मधुमेह रोग भएमा पनि बच्चामा यो समस्या हुने सम्भावना बढि रहन्छ।
- गर्भावस्थामा आमालाई मोटापा (तौल बढि) भएमा यो हुने सम्भावना बढि रहन्छ।
यसका प्रकारहरु निम्नानुसार छन्।
- चिरिएको ओठ मात्र (यो पनि दुई प्रकारको हुन्छ। एकातिर मात्र चिरिएको ओठ र दुइतिरै चिरिएको ओठ।)
- चिरिएको तालु मात्र।
- चिरिएको ओठ र तालु दुवै।
यसले गर्दा उत्पन्न हुने समस्याहरु निम्नानुसार छन्।
- बच्चालाई खान समस्या हुन्छ।
- निल्न गार्हो हुन्छ।
- तालु चिरिएको छ भने मुखमा भएको खानेकुरा नाक हुँदै बाहिर चुहिन सक्छ।
- नाके स्वर।
- दिर्घकालिन कानको संक्रमण।
- अनुहार हेर्दा अरु बच्चाको तुलनामा असामान्य देखिन्छ।
बच्चा जन्मिएदेखी नै चिकित्सकले आमाबुवालाई उपचारका बारेमा बताउनेछन। के-के उपचारले बच्चाको सहायता गर्न सकिन्छ भनी तल संक्षिप्त वर्णन गरिएको छ।
चिरिएको ओठको उपचार: बच्चा दुई देखी तिन महिनाको हुँदै ओठ चिरिएको उपचारका लागि शल्यकृया गरिन्छ। दुईतिरै चिरिएको ओठ छ भने केही हप्ताको अन्तरालमा दुई वटा शल्यकृया गर्नुपर्ने हुनसक्छ।
चिरिएको तालुको उपचार: चिरिएको तालुको शल्यकृया गरेर उपचार गरिन्छ। अबचुरेटर नामक उपकरणले मुख र नाकबिचको चिरिएको भागबाट हुने मार्गलाई बन्द गरेर खानेकुरा नाकमा जान नदिएर खान मदत गर्दछ। उपचारबारे विस्त्रित विवरण उपचाररत चिकित्सकले बताउँदछन्।
स्वर तालिम: दाँतको स्थान सही ठाउँमा नभए पहिले दाँतलाई सही ठाउँमा ल्याउने उपचार गरिन्छ। तत्पस्चात आवश्यकता बमोजिम वाक चिकित्सक द्वारा तालिम गराइन्छ।
कानको उपचार: धेरैमा कानको दिर्घकालिन संक्रमण हुने भएकाले आवश्यकता बमोजिम कानलाई दिर्घकालिन असर नपुगोस् भनी विभिन्न उपचार गर्नुपर्ने हुन सक्छ।
यि सबै उपचार एकै चिकित्सकले गर्दैनन्। विभिन्न विधाका विशेषज्ञहरुको सहकार्यबाट उपचार गरिन्छ।