(About ways of having healthy and strong teeth in Nepali)
दाँत आँफै बलियो पदार्थका तहहरुले बनेको हुन्छ। सबैभन्दा बाहिर शरीरकै सबैभन्दा बलियो पदार्थ इन्यामल हुन्छ भने इन्यामल पछी डेन्टिन तह आउँछ। दाँतमात्र बलियो भएर हुँदैन, दाँतको जरा जुन हाडभित्र हुन्छ, त्यो पनि बलियो हुनु आवश्यक पर्दछ, त्यसका लागी दाँत र गिजा दुवै सफा हुनुपर्दछ।
दाँतको बाहिरी भाग यती बलियो भएपनी मुखभित्र हुने केही जिवाणुहरुले यसलाई सडाइदिने गर्दछन्। कुन र कसको दाँत सड्दछ, त्यो विभिन्न र धेरै कुराहरुमा निर्भर गर्दछ। दाँतको सडन कम गराउन, स्वभाविक रुपमा, दाँतको सबैभन्दा बाहिरी भाग अर्थात् इन्यामल बलियो हुनु जरुरी छ। दाँतको सबैभन्दा बाहिरी भाग बलियो बनाउन एउटा तत्वको आवश्यकता पर्दछ जसको नाम हो ‘फ्लोरिन’। यही तत्वको अर्को रुप हो ‘फ्लोराइड’। फ्लोराइड दुई-धारे तरवार हो, अर्थात् एउटा सिमित मात्रामा यसले दाँत बलियो बनाउँदछ भने एक सिमित मात्राभन्दा बढी भयो भने इन्यामल र हाड दुवैलाई कमजोर बनाउँदछ। फ्लोराइड कम भए दाँत सड्ने, बढी भए दाँत अझ कमजोर हुने भएकोले यसको प्रयोग होसियारीका साथ गर्नुपर्ने हुन्छ।
दाँतलाई कसरी बलियो बनाउने (वा सड्नबाट जोगाउने)?
१. हरेक दिन नियमित रुपमा दिनको दुई पटक फ्लोराइडयुक्त पेस्टले ब्रश गर्ने। यसो गर्नाले दाँतमा सडन हुने सम्भावना कम हुन जान्छ।
२. बन्द गोभी, फुल गोभी, अङ्गुर, पालकको साग, छोहरा, आलु, गाँजर, झिँगे माछा, गंगटा लगायतका खानेकुराहरु फ्लोराइड-धनी खाद्यवस्तु हुन् र दाँतलाई बलियो बनाउँदछन्।
३. चकलेट र गुलियो पदार्थको सेवन घटाउने।
४. गुलियो पेय-पदार्थको सेवन घटाउने।
५. हरेक पटक खानेकुरा खाइसकेपछी कुल्ला गर्ने बानी बसाल्ने।
६. दाँत मुखमा आइसक्नु अगावै देखी बच्चालाई नियमित रुपमा हरेक छ महिनामा नेपाल मेडिकल काउन्सिल मा दर्ता भएका दन्तचिकित्सककहाँ लाने। कुनै समस्या भए दन्तचिकित्सकले समस्या सुरु हुनुपुर्व नै त्यसलाई निर्मुल हुने उपायहरु बताउने छन्। सानै उमेरदेखी बच्चाको दाँत कसरी बलियो राख्ने, मुखमा नआइसकेका दाँतहरु कसरी बलियो भएर आउनेछन् भनी, के के खानेकुरा प्रशस्त मात्रामा ख्वाउने भनी दन्तचिकित्सकले बताउनेछन्।
यि यावत् सावधानि अपनाए दाँतको सडन धेरै कम हुन्छ। तर, दाँतलाई अझ बलियो बनाउन खानेपानीमा फ्लोराइड हुनु अत्यावश्यक छ। दिनको दुइपटक फ्लोराइडयुक्त पेष्टले ब्रश गर्दा सडनको सम्भावना २० देखी ३५% ले कम हुन्छ भने फ्लोराइडयुक्त पानी पिउनाले ५० देखी ६५% ले सडनको सम्भावना कम हुन्छ। विभिन्न अनुसन्धानले देखाएअनुसार नेपालको प्राकृतिक खानेपानीमा फ्लोराइडको मात्रा प्राय: जसो स्थानमा आवश्यकभन्दा कम छ अत: खानेपानीलाई फ्लोराइडयुक्त बनाउन हामी सबैले सम्बन्धित निकायलाई दबाब दिन अत्यावश्यक छ। सम्पूर्ण ठाउँंको खानेपानीको फ्लोराइड मापन गरी आवश्यक स्थानहरुमा खानेपानीलाई फ्लोराइडयुक्त बनाउनु खर्चिलो काम होइन त्यसैले यसतर्फ सबैले र विशेषत: सम्बन्धित निकायले ध्यान दिनु अत्यावश्यक छ। यसले ठुलो जनसंख्यामा एकैपटक धेरै मात्रामा दाँतको सडनको मात्रा घटाउने भएकोले दाँतको उपचारमा हुने खर्च आधाभन्दा बढिले कम गराइ समाजमा पर्ने ठुलो आर्थिक भार घटाउनेछ। र, सबैभन्दा बढि फाईदा गरिब तथा सिमान्तकृत वर्गलाई पुर्याउनेछ।