(About bad breath/ halitosis in Nepali)
बिहान-बीहानै उठ्नासाथ मुख गनाउनु वा कुनै लसुन-प्याज खाएपछी श्वास गनाउनु सामान्य हो तर लामो समयसम्म श्वास गनाउनुले थप ध्यान माग्दछ। नियमित ब्रश गरेर, कुल्ला गर्ने औषधी प्रयोग गरेर वा माउथ फ्रेश्नर प्रयोग गरेर तपाईंको लामो समयदेखी रहेको श्वास दुर्गन्ध गइरहेको छैन भने तपाईंले ध्यान पुर्याउनु आवश्यक हुन्छ। मुखभित्रको मात्र नभइ शरीरको अन्य अङ्गमा समस्या भएमा पनि श्वास गनाउन सक्छ।
श्वास गनाउने कारणहरु
लामो समयसम्म तपाईंको श्वास निम्न कारणहरुले गर्दा गनाइरहेको हुन सक्छ।
१. दाँत र गिजाको समस्याले गर्दा।
दाँतको सडन र गिजाको रोगका कारण श्वास दुर्गन्धित बनाउने जिवाणुहरुले सडन भएको भाग र दाँत र गिजा बिचको भागमा फस्टाउने मौका पाउँछन् र श्वास दुर्गन्धित बनाउँछन्।
२. मुख, नाक र घाँटिमा संक्रमणले गर्दा।
नाक, घाँटी र साइनसको संक्रमणले गर्दा नाकभित्रको पछाडिको भागबाट गनाउने पदार्थ मुखमा गएर श्वास दुर्गन्धित बनाउन सक्छ।
३. सुक्खा मुखले गर्दा।
र्यालले खानाको पाचनमा मात्र नभइ दाँतको फोहोरलाई प्राकृतिक रुपले बगाएर सफा राख्न पनि मदत गर्छ। साथै र्यालमा मुखको संक्रमण तथा दाँतको सडन बिरुद्ध लड्ने पदार्थहरु पनि हुन्छन्। अत: र्यालको उत्पादन कम भएमा पनि मुखको संक्रमण वा दाँतको सडन वा गिजामा समस्या भइ श्वास गनाउन सक्छ।
४. धुम्रपान वा सुर्तीसेवनले गर्दा।
सुर्तिजन्य पदार्थले शरीरमा विभिन्न प्रकारका समस्या गर्नुको साथै क्षणिक दुर्गन्धित श्वास त गराउँछ नै, त्यसका साथै यसले मुखमा र्यालको उत्पादन घटाइ लामो समयसम्म श्वास दुर्गन्धित बनाउन सक्छ।
५. शरीरका अरु चिरकारी समस्याहरुले गर्दा।
प्राय: मुखभित्रकै समस्याले श्वास गनाएपनी पेटको समस्या, मधुमेह, कलेजो वा म्रिगौलाको समस्याहरुले गर्दा पनि श्वास गनाउन सक्छ।
लामो समयसम्म श्वास गनाए के गर्ने?
सबैभन्दा पहिले त स्वस्थकर बानीको विकास आवश्यक छ। फ्लोराइडयुक्त पेस्टले दिनको दुईपटक ब्रश गर्ने। दाँतको बिचको सतह सफा गर्न फ्लस गर्ने। प्रशस्त मात्रामा पानी पिउने। धुम्रपान र सुर्तिसेवन त्याग्ने। यती गरेपस्चात पनि श्वास गनाइरहेमा दन्तचिकित्सकको सल्लाह लिने। दन्तचिकित्सकको सल्लाह बमोजिम मसिनले दाँत सफा गराउने। दन्तचिकित्सक ले तपाईंको श्वास गनाउने कारण पत्ता लगाइ तपाईंलाई सल्लाह-सुझाव दिनेछन्, सोही अनुरुप तपाईंको समस्या समाधान हुनेछ। आवश्यकता भए दन्तचिकित्सकले तपाईंलाई अन्य बिशेषज्ञ चिकित्सक कहाँं रेफर गर्नेछन्।