(About oral habits seen in children in Nepali)
तलको लेख सह–प्राध्यापक डा. मनु बतरा (र वहाँलाई मदत गर्ने डा. दिपेन्द्र पोखरेल, डा. सरिता अग्रहरी, डा. निरज कुमार देव, डा. निरज ढ्याको, डा. कमल पौडेल, डा. कमला थापा र डा. कृतिका श्रेष्ठ) को पुस्तक ‘मुख स्वास्थ्य सम्वन्धि शिक्षक–अभिभावक तालिम पुस्तिका‘ मा आधारित छ।
कुनै पनि कार्य पटक पटक गरिरहनुलाई बानी भनिन्छ। बच्चामा देखिने मुख सम्बन्धि बानीहरु यस प्रकार छन्।
क) औंला चुस्ने बानी
औँला चुस्ने प्राकृतिक बानी हो। पछि यो बानी दाँत निस्कने समयसम्म यथावत रहेमा यसले दाँतको बनावटको साथै अनुहारको आकारमा प्रभावित पार्दछ।
औँला चुस्ने बानीको दुष्परिणाम
- अगाडिको दाँत बाहिर आउँछ र यसले दाँतमा अनियमितता ल्याउँछ।
- अनुहार भद्दा देखिन्छ।
उपचारः यो बानि छुटाउन दन्तचिकित्सकले निम्न विधिहरु अपनाउन सक्दछन्।
- अभिभावक र बच्चालाई यस बानीले पार्ने प्रभाव र यसलाई छुटाउने सल्लाह।
- रिमाइन्डर थेरापीः बानी छुटाउने उपकरण – निकाल्न सक्ने स्थिर उपकरण
- औँला वा हातमा पट्टी बाँध्ने वा औँलामा अस्वादिलो रसायनको लेप लगाउने।
- बच्चाको ध्यान अन्य कार्यमा लगाई दिने विधिको तालिम।
ख) जिब्रो निकाल्ने बानी
खाना निल्ने समयमा, जब जिब्रो आफ्नो सामान्य स्थानबाट हट्छ, यसलाइ असामान्य जिब्रोको स्थिति भनिन्छ ।
दुष्परिणाम
- अगाडिको दाँत बाहिर आउने
- दाँतको बीचमा खाली ठाउँ हुने
- कुरुप अनुहार
उपचारः यो बानि छुटाउन दन्तचिकित्सकले निम्न विधिहरु अपनाउन सक्दछन्।
- बानी छुटाउने उपकरण।
- जिब्रोको रक्तसंचालन ठीक राख्ने व्यायामको तालिम।
ग) मुखबाट सास फेर्ने बानी
मुखबाट सास फेर्ने बानी शारीरिक संरचना सम्बन्धी कारणले हुन सक्दछ। जस्तै: टन्सिल, एडिनाइटिस, आदि। मुख तथा जबडाको बनावटको कारणले पनि मुखबाट सास फेर्ने बानी बस्न सक्दछ।
दुष्परिणाम
- अगाडिका दाँतहरु बाहिर निस्कने
- लामो अनुहार
- रातो र सुन्निएको गिजा
उपचारः यो बानि छुटाउन दन्तचिकित्सकले निम्न विधिहरु अपनाउन सक्दछन्।
- शारीरिक संरचना सम्बन्धी समस्याको समाधान।
- रिमाइन्डर थेरापी – ओरल स्क्रीन।
- ओठको व्यायामको तालिम।
- पानी रोकेर मुखमा राख्ने अभ्यासको तालिम।