(About consequences of not replacing missing teeth in Nepali)
दाँत नभएपछी, अगाडीको दाँत नभए हेर्दा नराम्रो देखिन्छ – सुन्दरतामा नकारात्मक असर पर्छ नै तर अगाडि र पछाडिको दाँत नहुँदा पर्ने नकारात्मक असरहरु सुन्दरतामा नकारात्मक असरका अलावा धेरै छन्।
१. दाँत नभएको ठाउँको हड्डी खिइनु।
दाँत नभएपछी त्यस खाली ठाउँको हाडको आवश्यक उपयोग हुँदैन जसको कारणले हाम्रो शरीरले उक्त ठाउँमा हाडको आवश्यकता नभएको ठान्छ र त्यस ठाउँँबाट बिस्तारै हाड खिइँदै जान्छ। मधुमेहका बिरामीहरुमा यो प्रकृया अझ चाँडो हुन्छ।
२. छेउका दाँतहरु बाङ्गो हुनु र हल्लिनु साथै उल्टोपट्टिका दाँतहरु पनि बिग्रिनु।
दाँत निकालेपछी छेउ-छेउका दाँतहरु खाली ठाउँँतर्फ ढल्कन्छन्, र तलको दाँत निकालिएको भए माथिको र माथिको भए तलको दाँत पनि सो खाली ठाउँँतर्फ बढ्दछन्। यसका कारणले ति दाँतहरु जरैबाट कमजोर हुन्छन्। साथै आफ्नो ठाउँँ बाट असामान्य ठाउँँतर्फ दाँतको सराइ को कारणले ति दाँत वरपर पनि खाना फस्ने र अन्य धेरै समस्याहरु देखा पर्छन्।
३. दाँतको टोकाइ बिग्रिएर जोर्नीमा असर पर्नु।
धेरै दाँतहरु असामान्य ठाउँँमा सरेका कारणले जबडाको जोर्नीमा (कान नजिकै) दुख्ने तथा अरु समस्याहरु आउँछन्। जसको कारणले गर्दा खान चपाउन पनि गार्हो पर्छ र पुरा शरीरको स्वास्थ्यमा नकारात्मक असर पर्छ।
४. बोली बिग्रिनु।
दाँत नभएपछी बिभिन्न आवाजहरु स्पस्ट आउँदैनन् र बोली बिग्रिन्छ।
५. अनुहार बिग्रिनु।
दाँतहरु झर्दै गएपछी गाला मुखभित्र तर्फ दब्छ र अनुहारको सुन्दरतामा नकारात्मक असर पर्छ।
६. सम्पूर्ण स्वास्थ्यमा नकारात्मक असर पुग्नु।
राम्ररी खाना खान नसकेपछी, सामान्य तरिकाले बोल्न नसकेपछी, सुन्दरतामा नकारात्मक असर परेपछी सम्पूर्ण शरीरिक एवम् मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्दछ।
अत: सकेसम्म समस्या भएको दाँत बचाउनुपर्दछ र उखेल्नै परेमा अन्तिमका बुद्धी बङ्गारा बाहेकका दाँतहरुका ठाउँँमा सक्दो चाँडो नक्कली दाँत लगाउनुपर्दछ।
किरा लागेर नसासम्म पुगिसकेको दाँत बचाउने तरिका आर. सि. टि. का बारेमा जान्न यहाँ क्लिक गर्नुहोस्।
Leave a Reply