Image: dentalimplantsindia.org

(About Oral Submucous Fibrosis/ inability to open mouth due to Gutka consumption in Nepali)

डि. एन्. सिन्हा र समुहद्वारा सन् २०१२ मा गरिएको अध्ययन अनुसार पोखरा-लेखनाथका ३२ प्रतिसत भन्दा बढी युवाले गुट्का सेवन गर्दछन्। जुन संख्या तराइमा अझ बढी छ। गुट्का सुपारी, तम्बाकु, कत्था, चुन आदी पदार्थहरुको मिश्रण हो जुन चपाएर सेवन गरिन्छ। धुवाँजन्य पदार्थ सामाजिक रुपमा त्यती पाच्य नभए पनि गुट्का भने समाजले तुलनात्मक रुपमा सहजै ग्रहण गर्दछ जसको कारणले यसको प्रयोग दिनानुदिन बढ्दै गैरहेको छ।

सन् १९८० मा गुप्ता र समुहद्वारा गरिएको अध्ययन अनुसार गुट्का सेवन गर्ने महिलाहरुमध्ये ४ प्रतिसत भन्दा बढी महिलामा ओ. एस्. एफ्. (OSF – Oral Submucous Fibrosis) भन्ने रोग पाइएको थियो। गुट्कामा पाइने विभिन्न रसायनिक पदार्थहरुले मुखका तन्तु र मांसपेसिहरुका केही निस्चित फाइबरहरुमा नकारात्मक असर पुर्‍याइ यो रोग निम्त्याउने गर्दछन्। यस रोगका लक्षणहरु निम्नानुसार छन्।

सुरुवाती लक्षणहरु:

  • मुख पोल्नु, पिरो खानेकुरा खान नसक्नु।
  • मुखमा, प्राय तालुमा फोका देखिनु, मुखभित्र घाऊहरु देखिनु, मुखको भित्री भाग सुन्निनु।
  • धेरै र्‍याल आउनु वा मुख सुक्खा हुनु, राम्रोसँग स्वाद लिन नसक्नु।

रोग बढीसकेपछीका लक्षणहरु:

  • मुखभित्रका सामान्यतया गुलाबी देखिने तन्तुहरु सेतो देखिन थाल्दछन्।
Image: juniordentist.com
  • भित्री गाला छाम्दा कडा महसुस हुनु। फाइबरको ब्यान्ड महसुस हुनु।
  • मुखबाट फुक्न गार्हो हुनु। फुकेर क्यान्डल निभाउन असमर्थ हुनु।
  • पुरा मुख खोल्न नसक्नु।
Image: Shafer’s Textbook of Oral Pathology
  • निल्न गार्हो हुनु। नाके स्वर आउनु। कान दुख्नु।

यो रोगको सुरुवाती लक्षणहरु देखिने बित्तिकै दन्तचिकित्सकसँग सल्लाह लिइ सोही अनुरुप उपचार गराउनु पर्दछ। यो रोग प्री-क्यान्सरस कन्डिसन (Pre-cancerous condition) समुह अन्तर्गत पर्ने भएकाले अर्थात् यो रोगको क्यान्सरमा परिवर्तन हुने सम्भावना रहेको हुँदा सिघ्रातिसिघ्र यस रोगको निदान गरिनुपर्दछ। यो रोगको कारक तत्व सुपारीयुक्त वस्तु भएकाले सोको सेवन नगर्नु नै यो रोगको उत्तम निरोध हुनेछ।

By Dr. Nitesh Kumar Roy

Dental Surgeon, Rationalist, Lover of Literature and Visual Arts

Leave a Reply

Your email address will not be published. Required fields are marked *